युनियनद्वारा कार्कीमाथि भएको आक्रमणको निन्दा

काठमाडौँ, २१ भदौ : राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि भएको साङ्घातिक आक्रमणप्रति नेपाल प्रेस युनियन रासस शाखाले निन्दा गरेको छ ।

युनियनका केन्द्रीय सदस्यसमेत रहनुभएका कार्की आज बिहान करिब ९ः३० बजे बनेपा नगरपालिका वडा नं ८ स्थित बसपार्क नजिकैको चामुण्डा हार्डवेयरमा सामान किन्न पुगेका बेला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० घर भएका उद्धव कार्कीले अन्धाधुन्ध आक्रमण गरेका थिए । आक्रमणकारी उद्धव बनेपा नगरपालिका वडा नं १४ साँगास्थित नेपाल प्रहरी विद्यालयमा नेपाली शिक्षक पदमा कार्यरत रहेको युनियन शाखा अध्यक्ष मोहिनी मिश्र रिसालले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार कार्कीमाथि आक्रमण गर्दा उद्धवले हेलमेट र मास्क लगाएका थिए । पुरानो हिसाब चुक्ता गर्छु भन्दै उनी आक्रमणमा उत्रिएका थिए । युनियनले आक्रमणकारीलाई कानूनी कारबाही गर्न, पीडकबाट उपचार गराई क्षतिपूर्ति दिन र अब आइन्दा सञ्चारकर्मीमाथि हुने यस्ता हर्कत नदोहोरिने वातावरण बनाउन सरकारसँग माग गरेको छ । पसलमा सामान किनिरहेका बेला पछाडिबाट टाउकामा प्रहार गरी पुरानो हिसाब चुक्ता गर्नु छ भन्दै निरन्तर आफूमाथि प्रहार गरिएको कार्कीले जानकारी दिनुभयो ।

आक्रमणलगत्तै उद्धवले घाइते कार्कीका कान्छा भाइ श्रीरामलाई फोन गरी परिवारका सबै सदस्यलाई एकएक गरी ढाल्ने धम्कीसमेत दिएको बताइएको छ । कार्की आजै धुलिखेल अस्पतालमा उपचारपछि घरमा आराम गरिरहनुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका बेला सञ्चारकर्मीमाथि हुने यस्ता गतिविधिले सञ्चार कर्ममा अवरोध गर्ने र आतङ्कितसमेत बनाउने भएकाले यस्ता गतिविधि रोकी स्वतन्त्र रुपमा निष्पक्ष भई कलम चलाउने वातावरण बनाउन पनि युनियनले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.