सर्लाहीमा लगाइएको निषेधाज्ञा हटाइयो

मलंगवा, २१ भदौ : जिल्ला प्रशासन कार्यालय सर्लाहीले विगत ३ सातादेखि लगाउँदै आएको निषेधाज्ञालाई आज हटाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले विगत ३ सातादेखि लगाउँदै आएको निषेधाज्ञा खुकुलो गरेको छ ।

कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले विगत ३ सातादेखि लगाइँदै आएको निषेधाज्ञा सोमबारदेखि खुकुलो गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

मलंगवामा जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको बसेको वैठकले निषेधाज्ञालाई केहि हदसम्म खुकुलो गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र कुमार पौडेलले जानकारी दिए । सर्वसाधारणको जीवन निर्वाह तथा सामाजिक आर्थिक अवस्थालाई सन्तुलित बनाई राख्न व्यापार तथा रोजगारी हुने खालका क्रियाकलापहरु सञ्चालन गर्न दिइने निर्णय गरिएको उनले बताए । यद्यपि कोरोना संक्रमण फैलिन नदिन आवश्यक सुरक्षा मापदण्ड पालन गराउन लगाइने उनले बताए ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले अघोषितरुपमा निषेधाज्ञालाई खुल्ला गरे पनि होटेल तथा मदिरा पसलहरु संचालनमा र हाटबजार तथा मेला आयोजनमा पूूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । आवश्यक उपभोग्य सामाग्री बिक्री गर्ने पसलहरु प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोल्न दिइने निर्णय गरिएको छ । संघ संस्था, कार्यालय, वित्तिय संस्थाहरु पालिकागत हिसाबले पालो मिलाएर सञ्चालनमा ल्याउन सूचनामा भनिएको छ ।

उपभोग्य वस्तु र निर्माण सामग्रीको ढुवानी गर्ने साधन सूर्योदयदेखि सूर्यास्तसम्म सञ्चालन गर्न पाइनेछ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार अब सोमबारदेखि आवतजावतमा मात्रै कडाइ गरिने भएको छ ।

जिल्लामा अत्यावश्यक काममा बाहेक यातायातका साधन भने सञ्चालन हुने छैन । कोरोना भाइरस संक्रमण फैलिन थालेपछि सर्लाहीमा साउन २६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

निषेधाज्ञा हटाइएपनि सामाजिक दुरी कायम गर्ने, भीडभाड हुन नदिइने लगायतका नियमहरु अनिवार्य रुपमा पालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.