स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टिनमा
काठमाडौं, २१ भदौ : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालकै परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ ।
मन्त्री ढकालको परिवारका एकजना सदस्यलाई कोरोना पुष्टि भएको जानकारी मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दिएका छन् ।
छोरालाई कोरोना भाइरसको संक्रमण देखिएपछि मन्त्री ढकाल होम क्वारेन्टिनमा बसेका हुन् । मन्त्रालयका अनुसार मन्त्री ढकाल आइतबारबाट होम क्वारेन्टिनमा बसेका हुन् ।
काठमाडौंमा पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण फैलिएसँगै घर घरमा जस्तो संक्रमित भेटिन थालेका छन् । हाल देशकै सबैभन्दा धेरै काठमाडौं जिल्लामै सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण तीव्ररुपमा वृद्धि भइरहेको छ । आइतबार मात्रै देशभर ९८० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।
