कोरोनाबाट थप ९ को मृत्यु, मृतकको संख्या २८० पुग्यो
काठमाडौं, २० भदौ : कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ ।
तीनजना महिलासहित ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिवार नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८० पुगेको छ ।
उनका अनुसार मोरङकी ४३ वर्षकी महिला, नवलपरासीकी ३७ वर्षीया महिला र ५२ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको हो ।
पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय, काठमाडौंका ४१, ५९ र ६५ वर्षका गरि तीनजना तथा रुपन्देहीका ४० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै देशभर शनिबार १०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिला ३४९ र पुरुष ६९२ जना रहेका छन् । यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ७ लाख ५७ हजार बढीको पिसिआर परीक्षण भएको छ ।
