सूर्य सन्देश सहकारीको रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं, २० भदौ : कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ मा रहेको सूर्य सन्देश बचत तथा ऋण सहकारी संस्थाले आज रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
विश्वभर फैलिएको कोभिड-१९ का कारण नेपालमा जारी लकडाउनका बीच रगतको अभाव कम हुन नदिन सूर्य सन्देश बचत तथा ऋण सहकारी संस्था र लायन्स क्लव अफ काठमाडौ फुलबारी 325 B2 द्धारा संयुक्त रुपमा आयोजित बृहत रक्तदान कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ स्थित फोर्सपार्कमा सम्पन्न भएको छ ।
सुर्य सन्देश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शैलेन्द्र रायमाझीका अनुसार महिला, पुरुष, प्रौढ लगायतका उमेर समूहका नागरिकले रगतदान गरेका थिए । विभिन्न अस्पतालहरुमा फ्रेस ब्लडको अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको रायमाझीले बताए ।
उक्त संस्थाले यसअधि पनि विभिन्न किसीमका समाजिक कार्य तथा नागरिकका सरोकारसंग सम्बन्धित विभिन्न किसीमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । रक्तदान गर्नेहरुलाई कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, वडा नं ७ का अध्यक्ष जीवन थापा, कोभिड फोकल पर्शन एवम् स्वास्थ्य अधिकृत लक्ष्मी कोइराला, सूर्य सन्देश बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७, ८ र ९ का स्थानीय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई धन्यवाद दिए । यसैगरी, कार्यक्रमको आयोजना गर्ने सुर्य सन्देश बचत तथा ऋण सहकारी संस्था र अध्यक्ष शैलेन्द्र रायमाझी प्रति पनि उनले विशेष आभार प्रकट गरे ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसका कारण हाल देशभर रगतको अभाव भैरहेकोले भौतिक दुरी कायम गरी रगतको अभाव कम गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको सहकारीका अध्यक्ष शैलेन्द्र रायमाझीले जानकारी दिए ।
सो रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेको सहकारीका अध्यक्ष शैलेन्द्र रायमाझीले जानकारी दिएका छन् । रक्तदान जस्तो पवित्र कार्य गरेकोमा प्रसन्नता व्यक्त गर्दै रक्तदाता र सहयोगी सबैमा रायमाझीले हार्दिक धन्यवाद दिएका छन् ।

