कोरोना जितेर घर फर्किए नेपालगञ्जका ८८ वर्षीय वृद्ध
नेपालगञ्ज, १९ भदौ : नेपालगञ्जको करमोहना गाउँका ८८ वर्षीय वृद्ध बिन्दाप्रसाद कुर्मी कोरोना संक्रमण जितेर घर फर्किएका छन् ।
भदौ ५ गते कोरोना संक्रमित भएपछि कुर्मीलाई स्वास्थ्यकर्मीहरुले कृषि तालिम केन्द्र खजुराको आइसोलेसनस्थलमा राखेर रेखदेख गर्दै आएका थिए । संक्रमित भएका बेला कुर्मीलाई हल्का खोकी लागेको थियो ।
स्वास्थ्य अवस्था कमजोर भएका कारण घरबाट आइसोलेशनस्थलमा जाँदा लौरो टेकेर एम्बुलेन्समा चढेका थिए । घरेलु जडीबुटी र तातो पानी खाएरै आफूले कोरोनालाई जितेको कुर्मीले बताए ।
कोरोना भाइरसको संक्रमण जितेर १५ औँ दिनमा बिहीबार डिस्चार्ज हुँदा ८८ वर्षीय वृद्ध कुर्मी निक्कै उत्साहित देखिन्थे । कोरोना भनेर जति डर देखाइएको छ त्यस्तो डराउनुपर्ने रोग कोरोना होइन रहेछ । म निको भएर घर फर्कन्छु भन्ने हिम्मत र आत्मविश्वास भयो भने कोरोनालाई सजिलै जित्न सकिने रहेछ । हिम्मत हार्नुभएन । मन दह्रो बनाउने घरेलु जडीबुटी तुलसीको पात, गुर्जो, अदुवा, मरिच र ल्वाङ लगायतका जडीबुटी पकाएर दिनमा ३-४ पटक खायो भने कोरोना ठिक हुन्छ ।
घरेलु जडीबुटीबाहेक अन्य कुनै औषधी नखाएरै आफूले कोरोनालाई जितेर घर फर्कन लागेको उनले बताए । कुर्मीसँगै उनका परिवरका ५ जना कोरोना संक्रिमत भएका थिए । वृद्ध कुर्मी र उनका छोरा कोरोना जितेर घर फर्किसकेका छन् ।
८८ वर्षीय कुर्मीको एउटै सुझाव छ हिम्मत हार्ने र डराउने गर्नु हुँदैन कोरोनालाई सजिलै जित्न सकिन्छ । वृद्ध उमेर र हल्का खोकी लागेका कारण कुर्मीको स्वास्थ्यमा समस्यामा आउने हो कि भनेर स्वास्थ्यकर्मीहरु पनि चिन्तित थिए । तर, अन्य सामान्य संक्रमित जस्तै कुनै पनि किसिमको स्वास्थ्य समस्याबिनै ८८ वर्षिय वृद्ध कोरोना जितेर घर फर्कंदा स्वास्थ्यकर्मीहरु पनि निक्कै उत्साहित र सुखी भएको उनको रेखदेखका खटिएका स्वास्थ्यकर्मीले बताए।
