उपत्यकामा ४५४ सहित १३५६ जनामा कोरोना संक्रमण, १३५४ जना डिस्चार्ज

काठमाडौं, १९ भदौ : कोरोना भाइरसका एक हजार ३५९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ३५९ संक्रमित थपिएको जानकारी दिए ।
जसमा ४६४ महिला र ८९५ पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ ।
यसैगरी काठमाडौं उपत्यकामा ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ३५४ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । यो संगैं हालसम्म २५ हजार ५६१ जना डिस्चार्ज भएका छन् ।
आज देशभरका १३ हजार ६३८ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ४५ हजार ४९० पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १० हजार ९४२ जना र होम आइसोलेसनमा ७ हजार ४६२ रहेका छन् । आजसम्म देशभर ६ हजार ५६१ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै, पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन् ।
डा गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया महिला र चितवनका ३५ वर्षीया एक महिला रहेका छन् ।
त्यसैगरी सप्तरीका ५५-५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।
