ललितपुरको चक्रपथ क्षेत्रभित्र आज कर्फ्यु
काठमाडौं, १९ भदौ : जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।
ललितपुरमा बिहीबार मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपछि थप प्रदर्शनको सम्भावनाका कारण ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्युको घोषणा गरेको छ ।
कर्फ्यु शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुरको रिङरोडभित्र कर्फ्यु घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
प्रशासन कार्यालयले एक सूचना जारी गर्दै ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण क्षेत्रमा लागु हुने गरी कर्फ्षु आदेश जारी गरिएको जनाइएको छ ।
प्रशासन कार्यालयका अनुसार ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।
निशेधाज्ञा तोड्दै रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच भएको झडपपछि बिहीबार बसेको जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले रथयात्रा कसरी सम्पन्न गर्ने भनी निर्णय गरेको छ ।
बैठकपछि जारी प्रेस विज्ञप्तिअनुसार सम्बन्धित सबै सरोकारवालाको सहमतिमा रातो मच्छिन्द्रनाथ जात्राका सबै विधि हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने निर्णय भएको छ ।
बैठकले यसको निम्ति कार्यतालिका पनि सार्वजनिक गरेको छ । यसअनुसार भदौ १९ गते शुक्रबार क्षमापूजा गरिनेछ ।
प्रशासनले जारी गरेको सूचना भनिएको छ, “कर्फ्यु आदेश जारी भएको क्षेत्रभित्र उपरोक्त मिति र समयमा आवातजावत गर्न, भेला हुन र जुलुश निकाल्ने जस्ता कामकारवाही गर्न निषेध गरिएको छ । यो आदेशको उल्लंघन गरी घरबाट बाहिर निस्केमा वा अन्य काम गरेमा सुरक्षाको लागि खटिएका सुरक्षा अधिकारीले गोलि समेत हान्न सक्नेछ । तसर्थ निषेधित गरिएको स्थानमा तोकिएको समयमा घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई सूचित गरिन्छ ।”
ललितपुर जिल्ला प्रशासनले प्रशासन संक्रमणको कठिन परिस्थितिमा केही उच्छृङ्खल समूह र व्यक्तिहरुले कठिन परिस्थितिको नाजायज फाइदा उठाई धार्मिक, सांस्कृतिक विश्वासमा खलल पुयाई शान्ति सुरक्षा भङ्ग गर्ने हेतुले गैरकानुनी हर्कत गरेको पाइएकोले सो अवस्थाबाट शान्ति सुरक्षा भङ्ग हुन सक्ने देखिएकोले कर्फयु आदेश जारी गरिएको छ ।”

आज पनि सम्भावित घटनालाई मध्यनजर गरेर प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
