उपत्यकामा ४४५ सहित १ हजार २२८ जना संक्रमित थपिए

काठमाडौं, १८ भदौ : कोरोना भाइरसका एक हजार २२८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार २२८ संक्रमित थपिएको जानकारी दिए ।
जसमा ३९४ महिला र ८३४ पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर ९१७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार ३०७ रहेको छ ।
आज देशभरका १३ हजार ४१७ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ३१ हजार ८५२ पीसीआर परीक्षण गर्नेको संख्या ६ लाख पुगेको छ ।
देशभरका संस्थागत आइसोलेसन १० हजार ६७१ जना र होम आइसोलेसनमा ७ हजार ७४२ रहेका छन् । आजसम्म देशभर ६ हजार ७४९ जना क्वारेन्टिनमा रहेका छन् ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । भोजपुर, ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या २५७ पुग्यो
कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवनका ४० वर्षीया, भक्तपुरका ४० वर्षीया, रुपन्देहीका ७७ वर्षीया, तनहुँका ९२ वर्षीया महिलाहरु रहेका छन् ।
त्यसैगरी सिन्धुपाल्चोक ७७ वर्षीया र रुपन्देहीका ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट २५७ जनाको मृत्यु भएको छ ।
