उपत्यकामा ३८८ सहित ११२० कोरोना संक्रमित थपिए, १११२ जना डिस्चार्ज

काठमाडौं, १७ भदौ : कोरोना भाइरसका संक्रमित एक हजार १२० थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार १२० संक्रमित थपिएको जानकारी दिए । जसमा ३२० महिला र ८०० पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म २३ हजार २९० जना डिस्चार्ज भएका छन् ।
यसैगरी, देशभरका संस्थागत आइसोलेसन १० हजार ४९३ जना र होम आइसोलेसनमा ७ हजार ६१५ रहेका छन् । आजसम्म देशभर ६ हजार ७६७ जना क्वारेन्टिनमा रहेका छन् ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । सोलुखुम्बु मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।
कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा ६ महिला र ६ पुरुष रहेका छन् ।
मृत्यु हुनेमा चितवनका ५५ र १८ वर्षीया महिला, काठमाडौंका ८९ वर्षीया, ललितपुरका ७० वर्षीया, तनहुँका २० वर्षीया, कपिलवस्तुका ६० वर्षीया महिलाहरु रहेका छन् ।
त्यसैगरी बाराका ९७ वर्षीय, चितवनका ६५ वर्षीय, भक्तपुरका ४० वर्षीय, काठमाडौंका ७० र ७५ वर्षीय र धादिङका ४७ वर्षीय पुरुषहरुको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।
