सांस्कृतिक पर्व इन्द्रजात्रा आज मनाइँदै
काठमाडौं, १६ भदौ : काठमाडौं उपत्यकाको मौलिक सांस्कृतिक पर्व इन्द्रजात्रा आज मनाइँदै छ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।
इन्द्रजात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।
आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ ।
भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ ।
तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरिएकाले इन्द्र जात्राको उल्लास छैन ।
क्षमापूजा गरी इन्द्रजात्रा मनाइँदै, रथयात्रा स्थगित
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरेर मनाइने भएको छ । कोरोनाबाट बच्न रथयात्रा स्थगन गरिएकाले इन्द्रजात्रा सम्बन्धित सबै मठमन्दिरमा क्षमापूजा गरी मनाउन लागिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो ।
भाद्र शुक्ल चतुर्दशीका दिन आज इन्द्रजात्राको मुख्य दिन हो । यस अवसरमा आज काठमाडौँ उपत्यकामा प्राचीनकालदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ । आजैदेखि वसन्तपुर दरबार क्षेत्रमा कुमारी यात्रा शुरु हुने परम्परा थियो । यस वर्ष भने कोरोनाको महामारीका कारण यो परम्परा रोकिएको छ ।
आजको दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने गरिन्छ । भाद्र शुक्ल पूर्णिमाका दिन भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानीचा यात्रा गराइने विधि पूरा हुने प्राचीनकालदेखिको विधि छ । आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपतन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । यस वर्ष भदौ २२ गते बिहानी ४ः०६ बजे लिङ्गो ढाल्ने साइत निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारीलगायत मन्दिरमा क्षमा पूजा गर्ने तयारी भएको संस्थान काठमाडौँ शाखाका प्रमुख सुवेदीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समितिको बैठकले पनि जात्रा, चाड पर्व मनाउँदा भिडभाड नगर्ने निर्णय गरेको थियो । यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रासमेत हुन सकेको छैन ।
भाद्र शुक्ल द्वादशी अर्थात् भदौ १४ गते बिहान ७ः०७ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा इन्द्रध्वजोत्थान नगरिएपछि मानन्धर समूहले इन्द्रध्वजोत्थान गरिने हनुमानढोका दरबार क्षेत्रमा क्षमा पूजा गरेको थियो ।
काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भदौ ३ गते रातिदेखि निषेधाज्ञा जारी गरिएपछि यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन । भदौ ४ गते इन्द्रजात्राको लिङ्गो काट्ने साइत राति ९ः२५ बजेको दिइएको थियो । अघिल्लो बुधबार रातिदेखि नै काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि लिङ्गो नकाटिएको संस्थानले जनाएको छ ।
इन्द्रजात्रा चलाउन नसकिने भएपछि पूजा आराधना गरिने सम्बन्धित सबै मठमन्दिरमा क्षमा पूजाको विधि भदौ १४ गतेदेखि शुरु भएको संस्थानका काठमाडौँ शाखा प्रमुख सुवेदीले बताउनुभयो । इन्द्रजात्रा राजधानीका नेवार समुदायले महत्वका साथ मनाउने गरेका थिए ।
