यस्ता छन् आइतबार बसेको मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ, १५ भदौ : सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधनहरु असोज १ गतेबाट मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही आइतबार बसेको बैठकले योसहित विभिन्‍न १४ वटा निर्णय गरेको छ । यसअघि भदौ १६ गतेबाट सञ्चालन गर्ने निर्णय भए पनि कोरोना संक्रमणको दर बढ्दै गएपछि असोज १ गतेबाट मात्रै सञ्चालन गर्ने निर्णय सरकारले गरेको हो ।

नियमित तथा व्यवसायिक आन्तरिक उडानहरु समेत त्यही समयसम्मका सञ्चालन नगर्ने निर्णय भएको सरकारका प्रवक्ता, अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए । मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहलाई संक्रमण जोखिमको विश्लेषण गरी आइसोलेसन बेडको निर्माणको जिम्मा दिएको छ ।

प्रदेशको कोभिड-१९ संक्रमण व्यवस्थापन केन्द्र र जिल्ला कोभिड व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसनको प्रबन्ध गर्नुपर्ने उनले बताए । उपत्यकाको हकमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आइसोलेसन बेड निर्माणको जिम्मेवारी दिइएको छ ।

सरकारी अस्पताल तथा आवश्यकताका अनुसार निजी, सामुदायिक, शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाई प्रयोगमा ल्याएर आइसोलेसन व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।

बागमती प्रदेश र स्थानीय सरकारले उपत्यकाभित्र आवश्यकता अनुसार थप व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि सीसीएमसी र मन्त्रालयले सहजीकरण गर्नुपर्ने उनले बताए ।

स्थानीय तहमा बेड सञ्चालनका लागि प्रदेश कोभिड कोषबाट खर्च उपलब्ध गर्नुपर्ने र आवश्यकता अनुसार स्वास्थ्य मन्त्रालयले व्यवस्थापन गर्नुपर्ने निर्णय पनि गरेको छ । त्यसको सम्पूर्ण सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।

सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नागरिकहरुलाई प्रतिदिन ८ सयका दरले उद्धार गर्ने भएको छ । पिसिआर परीक्षण सहज भएका देशहरुमा नियमित उडान र पीसीआर परीक्षण सहज नभएका मुलुकमा उद्धार उडान गरिने भएको हो ।  यसअघि प्रतिदिन ५ सय जना मात्रै ल्याउन पाउने निर्णय गरेको सरकारले अब ८ सय जनामा नबढ्ने गरी नियमित र चार्टड उडान गर्ने भएको हो ।

यात्रु व्यवस्थापन, क्‍वारेन्टाइन व्यवस्थापनको जिम्मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई नै दिने गरी प्रतिदिन ८ सय जनालाई ल्याउन सकिने गरी निर्णय भएको डा. खतिवडाले बताए । विगतमा समन्वय अभावमा केही उडानहरु रोक्नुपरेको स्मरण गर्दै खतिवडाले पिसिआर परीक्षण सहज नभएका मुलुकहरु साउदी अरब, कुवेत, कतारलगायत देशबाट नियमित उडान गर्न नपाउने निर्णय गरेको छ ।

ती मुलुकहरुमा नेपाली कुटनीतिक नियोगबाट सिफारिस भएका, आफ्नै खर्चमा नेपाल आउन चाहाने र सम्बन्धित रोजगारदाता कम्पनीले आफ्नो खर्चमा पठाउन चाहेमा उद्धार उडानबाट ल्याइने उनले बताए ।

नेपालमा अध्ययन गर्न र परीक्षा दिन आउनुपर्ने विदेशी विद्यार्थीहरु पनि आउन पाउने भएका छन् ।  ७२ घण्टाभित्र पिसिआर परीक्षण गरेको प्रमाणपत्र, नेपालस्थित सम्बन्धि शैक्षिक संस्थामा भर्ना भएको प्रमाणपत्र र नेपाल सरकारले तोकेका मापदण्डहरु पालना गरी आउन पाउने निर्णय भएको उनले बताए । प्रवक्ता खतिवडाले नेपाली कुटनीतिक नियोगको सिफारिसमा एकाघरको मृत्यु भई नेपाल आउनुपर्ने, र गम्भीर अवस्थामा नेपाल आउनै पर्ने अवस्था गैरआवासीय नेपालीहरु पनि आउन पाउने निर्णय गरेको बताए ।

यसैगरी मेडिकल काउन्सिललाई चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्ने गरी प्रत्येक विद्यार्थीको चारै तर्फ २-२ मिटरको दुरी राख्ने, एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी नरहने गरी परीक्षा सञ्चालन गर्न पाउने व्यवस्था गरिएको उनले बताए । आवश्यक सहजीकरण र सुरक्षाको व्यवस्था स्थानीय प्रशासनलाई मिलाउन भनिएको छ ।

यसैगरी प्रत्येक निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदहरुको नेतृत्वमा त्यस क्षेत्रका समानुपातिक सांसद, राष्ट्रियसभाका सदस्यलाई जनप्रतिनिधिको हैसियतमा कोभिड नियन्त्रण, उपचार र व्यवस्थापनका लागि भइरहेका प्रयासका बारेमा अनुगमन लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

सरकारले सम्बन्धित श्रम गन्तव्य मुलुकहरूसँगको सम्झौता र मागको आधारमा नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय पनि गरेको छ ।

यस्तै सरकारले पर्वतारोहणका लागि सेप्टेम्बर १५, २०२० पछि बहराइनका राजकुमारलाई चार्टर्ड विमानबाट नेपाल आउने अनुमति पनि दिएको छ । बहराइनका राजकुमार सलमानसहित १५ जना र तीन जना बेलायती नागरिकलाई चार्टड विमानबाट नेपाल आउन अनुमति दिने निर्णय गरेको हो । उनीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी नेपाल आउन र नियम अनुसार लोघुचे र मनास्लु हिमाल आरोहण गर्न पाउनेछन् । यो हिमाल पर्वतारोहणको क्षेत्रमा कोरोना भाइरसको महामारीपछि भएको पहिलो निर्णय भएको उनले बताए ।

अपाङ्गता भएका व्यक्ति, अशक्त व्यक्ति र असहाय व्यक्तिहरुको प्रमाणपत्र नवीकरणको समय कार्तिक मसान्तसम्म थपिएको छ ।

यसैगरी सहरी विकास मन्त्रालयले निर्माण गर्न लागेको २ हजार बेड क्षमताको क्‍वारेन्टाइन निर्माणका लागि आवश्यक सामग्री खरिद गर्न सार्वजनिक खरिद ऐन २०६३ को दफ ६६ एवं सार्वजनिक खरिद नियमावली २०६४ को नियम १ सय ४५ अनुसार खरिद गर्ने निर्णय पनि गरेको छ । छिटोभन्दा छिटो क्‍वारेन्टाइन निर्माण गर्नुपर्ने भएकाले विशेष अवस्थामा खरिद गर्न नियमावली अनुसार खरिद स्वीकृति दिइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.