काठमाडौं उपत्यकामा २९८ सहित थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ भदौ : पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महिला ३०३ र  पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी  पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगैं २१ हजार ४९० जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार १२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ९३ हजार ३७२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यस्तै, पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण मुक्त रहेको छ ।

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तीन महिला र चार पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार महोत्तरीमा ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला र रुपन्देहीकी ६८ वर्षीया महिलाको कोरोना संक्रमणबाट निधन भएको छ ।

त्यसैगरी झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.