आर्सनललाई १६ औँ कम्युनिटी शिल्डको उपाधि

काठमाडौं, १४ भदौ : आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ ।

वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आर्सनलले उपाधि जितेको हो ।

खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउट गएको थियो ।
पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरेका थिए ।
लिभरपुलका मोहमद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गरे । तर, युवा खेलाडी रिहन ब्रेउस्टरको प्रहार क्रस बारमा लागेर फर्किएको थियो ।

त्यसअघि खेलको १२ औं मिनेटमा ओबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा वैकल्पिक खेलाडी मिनामिनोले लिभरपुलका लागि बराबरी गोल फर्काएका थिए ।

प्रिमियर लिग र एएफ कपको विजेता बीच नयाँ सिजनअघि कम्युनिटी शिल्ड खेलाइन्छ । आर्सनल एफए कपको विजेता हो भने लिभरपुल प्रिमियर लिग विजेता हो । लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको थियो । आर्सनलले कीर्तिमानी १४ औं पटक एफए कपको उपाधि जितेको थियो ।

आर्सनलले कम्युनिटी सिल्डको उपाधि जितेको यो १६ औँ पटक हो । आर्सनलभन्दा अघि म्यान्चेस्टर युनाइटेडले सर्वाधिक २१ पटक यो उपाधि जितेको छ । पछिल्ला सात सिजनमा आर्सनलले चार पटक यो उपाधिमाथि कब्जा जमाउन सफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.