प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ पुग्यो
धनुषा, १३ भदौ : कोरोना संक्रमणबाट प्रदेश २ मा थप ७ जनाको मृत्यु भएको छ ।
शनिबार पर्सामा ३, महोत्तरी र सिरहामा २-२ जना गरि ७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक बिकास मन्त्रालयका अनुसार यस भन्दा पहिले शुक्रबार ५ र बिहिबार ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
शनिबार पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १२ मुरलीको ४८ वर्षीय पुरुष, मनियारी २२ पर्साका ३७ वर्षीय पुरुष र वीरगंज १२ को ६५ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
त्यस्तै महोत्तरीको भंगहा नगगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुष र पिपरा गाउँपालिका वडा नम्बर ७ को ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ ।
त्यस्तै सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय पुरुष र लहान नगरपालिका वडा नम्बर १८ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस सँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा पर्सामा ३३, बारामा १३, धनुषामा १२, महोत्तरीमा ८, सिरहामा ७, सप्तरीमा ५, रौतहट र सर्लाहीमा ३-३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
