काठमाडौं संक्रमणको उच्च जोखिममा, संक्रमित बढेको बढ्यै
काठमाडौं, ११ भदौ : देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन् ।
केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ । यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको छ ।
११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका, कीर्तिपुर, चन्द्रागिरि नगरपालिका बढी प्रभावित देखिएका छन् । अन्य तहमा पनि कोरोना भने फैलिएकै अवस्था छ । सरकार र नागरिक दुवैका कमजोरीले काठमाडौं संक्रमणको उच्च जोखिममा गएको विज्ञ बताउँछन् ।
शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनले लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्नु मुख्य कारण भएको बताए । ‘लकडाउन खुसेसँगै बाहिरी जिल्लाबाट काठमाडौं आउने बढे’, डा. पुनले भने, ‘जुन बेला ९९ प्रतिशतमा लक्षण देखिएको थिएन । लक्षण नभएकाहरू गाइडलाइनअनुसार क्वारेन्टाइनमा बसेनन् । उनीहरू समुदायमा काम गर्ने व्यक्ति थिए । बिनापरीक्षण काममा गए । यसबाट पनि एक प्रकार जोखिम बढ्यो ।’
बाहिरी देशबाट आएकालाई सरकारले क्वारेन्टाइनमा राख्यो। परीक्षण ग¥यो । तर, बाहिरी जिल्लाबाट आउनेलाई भने काठमाडौंमा क्वारेन्टाइनमा राखिएन । उनीहरूको परीक्षण पनि गरिएन ।
सरकारले लकडाउनको समयको सदुपयोग गर्न नसक्नु अर्को समस्या भएको उनले बताए । ‘लकडाउनको समयमा आवश्यक तयारी गर्नुपथ्र्यो’, उनले भने, ‘सरकारले रणनीति बनाउनुपथ्र्यो त्यो काम भएन । पुरानै तरिकामा चल्यो ।’
लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी चले । व्यापार व्यवसाय पनि चलाउन थालियो । मजदुरहरू काममा लागे । तर कोरोनाका लागि अपनाउनुपर्ने सुरक्षाका उपाय अपनाइएन । जुन संक्रमण फैलिनुको अर्को कारण बन्यो ।

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा उपेन्द्र अर्यालले लेखेका छन् ।
