६० सहसचिवको सरुवा (सूचीसहित)
काठमाडौं, १० भदौ : सरकारले एकैपटक ६० जना सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न् मन्त्रालयहरुमा कार्यरत ६० सहसचिवहरुको सरुवा गरेको हो ।
मन्त्रालयले मंगलबार विभिन्न मन्त्रालयका प्राविधिक तथा प्रशासनिक तर्फका वरिष्ठ सहसचिवहरुलाई प्रदेशमा सरुवा गर्ने निर्णय गरेको हो ।
लामो समयदेखि केन्द्रमा कार्यरत उच्चपदस्थ कर्मचारीहरुलाई प्रदेशमा पनि सरुवा गर्ने नीतिअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ६० जना सहसचिवहरुको सरुवा गरेको हो ।
यस पटक सरुवा गरिँदा बरिष्ठ सह सचिवहरुलाई प्रदेशतिर पठाइएको छ । यसअघि प्रदेशमा कनिष्ठ सहसचिव मात्र जाने गरेका थिए । वरिष्ठ सहसचिवहरु भने सिंहदरबारमै रजगज गर्ने अघोषित परम्परा नै बनेको थियो । विगतको परम्परा तोड्दै बरिष्ठ सहसचिवहरुलाई प्रदेशतिर खटाइएको छ ।
सरुवा भएका सह सचिवहरुमा दिनेश कुमार घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट १ नम्बर प्रदेश मुख्यमन्त्री कार्यालयतिर पठाइएका छन् । यस्तै, सञ्चारमा कार्यरत राधिका अर्याललाई बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको छ ।
यसैगरी, पुननिर्माण प्राधिकरणमा कार्यरत चुणामणि पौडेल आन्तरिक मामिला तथा कानुन मन्त्रालय सूदुरपश्चिममा खटाइएको छ । यस्तै सीडीयोे चलाइरहेको महादेव पन्थीलाई सामाजिक विकास मन्त्रालय ५ नम्बर प्रदेशतिर पठाइएको छ । यस्तै स्वास्थ्यका सहसचिव रघुराम विष्ट सामाजिक विकास मन्त्रालय सूदुरपश्चिममा सरुवा भएको छ ।
यसैगरी, प्रधानमन्त्री कार्यालयका राजेन्द्र पौडेल १ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा भएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय १ नम्बर प्रदेशबाट सह सचिव दामोदर रेग्मीलाई स्वास्थ्य मन्त्रालय मातहत तानिएको छ ।
यो सरुवाको सूचीमा नेपालको एकमात्र सहसचिवस्तरको पद ‘मुख्य मनोविज्ञानवेत्ता’ पनि परेका छन् ।
लोक सेवा आयोगका डा. खगेन्द्र प्रसाद सुवेदीलाई प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ ।
डा. सुवेदी लोक सेवा आयोगका ‘मुख्य मनोविज्ञानवेत्ता’ पदमा कार्यरत छन् । मुख्य मनोविज्ञानवेत्ता नेपालको एकमात्र पद हो । लोक सेवाको नीति निर्माण तथा पाठ्यक्रम बनाउने मुख्य जिम्मेवारी सुवेदीको हो ।
सरुवाको सूची हेर्न यहाँ क्लिक गर्नुहोला:
