सन्दीपको चौथो खेल बुधबार बिहान
काठमाडौं,
जमैकाले पहिलो खेलमा सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले तथा तेस्रो खेलमा गुएना वारियर्ससित १४ रनले पराजित भएको थियो । जमैका ३ खेलमा एक जीत र दुई हारका साथ २ अङ्क जोडेर प्रतियोगिताको अङ्कतालिकामा चौंथो स्थानमा छ भने गुएना चार खेलमा दुईमा जीत तथा दुईमा हार बेहोर्दै चार अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा छन् ।
सन्दीपले हालसम्म खेलेका तीन खेलमा चार विकेट लिएका छ । सन्दीपले आइतबार गुएनासितको तेस्रो खेलमा चार ओभरमा ८ रन खर्चिएर २ विकेट लिएका थिए । यो उनको हालसम्मकै उत्कृष्ट खेल प्रदर्शन थियो । सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए । यस्तै ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा उनले ४ ओभरमा ३० रन दिँदै एक विकेट लिएका थिए ।
सन्दीप तेस्रो पटक सिपिएल खेल्दै छन् । उनले यस अघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट तथा दोस्रो पटक सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेल्नुभएको थियो । यस वर्षको सीपीएलका लागि जमैकाले २० वर्षीय सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।
