भारत र अफगानिास्तानका विदेशमन्त्रीबीच फोनवार्ता
नयाँ दिल्ली ३ भदौ : भारतका विदेशमन्त्री एस जयशंकर र अफगानिस्तानका कार्यबाहक विदेशमन्त्री एम हानिफ अतमारबीच बुधबार फोनमा कुराकानी भएको छ । उहाँहरुबीच बुधबार फोनवार्ता भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटमार्फत जानकारी दिनुभएको हो ।
विदेशमन्त्री जयशंकरले ट्वीटरमा आफूले अफगानिस्तानका विदेशमन्त्री हानिफसँग कुराकानी गरेको र सो फोनवार्ता उत्पादनमूलक भएको बताउनुभएको छ । त्यस अवसरमा आफूले विदेशमन्त्री हानिफमार्फत अफगानिस्तानको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेको जानकारी दिनुभएको छ ।
उहाँहरुले अफगानिस्तानमा हालै विकास भएको राजनीतिक परिस्थितिका बारेमा पनि कुराकानी गर्नुभएको बताइएको छ । अफगानिस्तानमा अहिले यहाँका तालिबानहरु र सरकारबीच वार्ताको तयारी भइरहेको छ । सो वार्ताका क्रममा त्यस विषयमा पनि कुराकानी भएको बताइएको छ ।
उहाँहरुबीच भारत र अफगानिस्तानका उच्च नेताहरुबीच भएको कुराकानीको एक दिनपछि आज फोन वार्ता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीलाई मंगलबार फोन गर्नुभएको थियो । त्यस वार्ताका क्रममा पनि अफगानिस्तानको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको बताइएको थियो । 
