राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं, २ भदौ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँको १ सय १ वर्षको उमेरमा मंगलबार लैनचौर स्थित आफ्नै निवासमा निधन भएको हो ।

राष्ट्रकवि घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो ।

उहाँको नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

उनले राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ‘मनको बाँध’ चलचित्रको ‘फूलको थुङ्गा बगेर गयो’ तथा नारायणगोपालले गाएको ‘आजै र राति के देखेँ सपना’जस्ता गीत पनि रचेका थिए ।

यसैगरी, नेपाली बालसाहित्यतर्फ उहाँका सनपङ्खी चरी, घामपानी बाललहरी, गौंथली र गजधम्मे आदि प्रकाशित छन् भने आफ्नै गीत आफ्नै बाँसुरी र चारु चर्चा निबन्धनिकट गद्यकृति हुन् ।

उहाँ वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.