कोरोना सङ्क्रमणबाट पोखरामा दुई जनाको मृत्यु
कास्की, २ भदौ : पोखरामा उपचारका क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्की र तनहुँका एकएक जना छन् ।
पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०ः४० बजे मृत्यु भएको हो । उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका थिए ।
प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यका अनुसार गत ३२ साउनमा उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि उनी अस्पतालको इमर्जेन्सी विभागमा भर्ना भएका थिए । कोरोना पुष्टि भएपछि उनलाई सोमबार अस्पतालको कोभिड उपचार केन्द्रमा राखिएको थियो ।
ती पुरुषलाई मधुमेह, रक्तचापलगायत रोगको समस्या रहेको बताइएको छ । हालसम्म पश्चिमाञ्चल अस्पतालमा मात्र चार सङ्क्रमितको मृत्यु भएको छ ।
त्यसैगरी तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरास्थित कास्की सेवा हस्पिटलमा उपचारका क्रममा गए राति साढे ११ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर तथा मुटुको समस्याका कारण उनी ३१ साउनमा अस्पताल भर्ना भएकी थिइन् ।
उनको सोमबार बिहान पीसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकोमा राति ९ बजे नतिजा पोजिटिभ आएको थियो । त्यसअघि दमौलीमा सामान्य उपचारपछि उनलाई पोखरा रेफर गरिएको थियो । पोखारामा उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिँदै थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
