उपत्यकाका १२७ सहित थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २९ साउन : बिहीबार थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका १२७ सहित ५२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
काठमाडौं उपत्यकामा बिहीबार १२७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा १२७ जना कोरोना संक्रमित थपिएका जानकारी दिएका हुन् ।
उपत्यकाका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ जना गरी १२७ जना रहेका छन् । योसहित देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १०९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६ हजार ८३७ जना डिस्चार्ज भएका छन् ।
हाल देशभर ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७६९ जना रहेका छन् ।
कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप चारजनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको हो ।
मृतकमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष रहेको गौतमले जानकारी दिए ।
महोत्तरीको मटिहानीका ४५ वर्षीय पुरुषको साउन २५ गते रामजानकाी अस्पतालमा मृत्यु भएपछि कोरोना पुष्टि भएको हो ।
धनुषाको मिथिला- ७ ८५ वर्षीया महिलाको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
अछाम रामारोशन गाउँपालिकाका १८ वर्षीय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको छ ।
यसैगरी, मोरङको विराटनगर महानगरपालिका- ३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोसी अस्पतालमा मृत्यु भएको छ ।
योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९५ पुगेको छ ।
