भोलिदेखि सवारी पास वितरण नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, २८ साउन : गृह मन्त्रालयले बिहीबारदेखि सवारीसाधनका लागि उपलब्ध गराउँदै आएको पास वितरण नगर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ ।

गृहले बुधबार एक सूचना जारी गर्दै  कोरोना संक्रमणलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेदेखि सवारीसाधन पास उपलब्ध नगराउन निर्देशन जारी गरेको हो ।

गृहमन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई दिइएकाे निर्देशनमा  भनिएको छ ‘कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सवारी पास वितरण नगर्न, नगराउनुहुन आदेशअनुसार अनुरोध छ।’

यसअघि विभिन्‍न जिल्लामा अन्तर-जिल्ला सवारीसाधन सञ्‍चालनका लागि पास उपलब्ध गराइँदै आएको थियो ।

सरकार साउन ५ गतेबाट १२० दिन लामो लकडाउन अन्त्यको घोषणा गरेपछि कोरोना सक्रमण ह्वात्तै बढेको छ ।

अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । त्यस मध्ये ९२ जनाको मृत्यु भएको छ भने १६ हजार ७२८ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्ररुपमा वृद्धि हुन थालेपछि उक्त पास वितरण कार्य रोकिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.