उपत्यकामा १३८ जना सहित ४८४ जनामा कोरोना संक्रमण, कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौं,२८ साउन : पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा ४८४ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।
काठमाडौं उपत्यकामा आज १३८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ललितपुरमा २१ र भक्तपुरमा ८ जना छन् भने काठमाडौंका १०९ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत सो संख्याका संक्रमित थपिएको जानकारी दिएका छन् ।
त्यस्तै विगत २४ घण्टामा ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । हालसम्म कोरोनाबाट १६ हजार ७२८ जना निको भइ घर फर्किका छन् । हालसम्म ६८ प्रतिशत कोरोनाबाट निको भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । यसैगरी देशभर १४ हजार ८४६ जना क्वारेन्टिनमा रहेका छन् ।
कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका २, काठमाडौं, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एकजना रहेका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।
