उपत्यकामा १३४ सहित ६३८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २४ हजार नजिक

काठमाडौं, २७ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशका विभिन्न ठाउँमा ६३८ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।
संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १३४ जना रहेका छन् ।
मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् । मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९४८ जना पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १७१ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६ हजार ६६४ जना डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमणबाट थप चारजनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका दुईजना, काभ्रे र सिन्धुपाल्चोकका एक-एक जना रहेका छन् ।
मृत्यु हुनेमा धनुषाका ६० वर्षीय पुरुषको साउन २६ गते प्रादेशिक अस्पतालमा जनकपुरमा निधन भएको हो ।
त्यसैगरी धनुषाकै क्यानसर अस्पतालमा काम गर्ने ५० वर्षीय पुरुषको साउन २५ गते निधन भएकोमा उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
काभ्रेकी एक महिलाको पनि कोरोना संक्रमणबाट साउन २७ गते निधन भएको छ ।
साउन २२ गते मनमोहन कार्डियोभास्कुल एन्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएका सिन्धुपाल्चकका ८४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको पाइएको छ ।
यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।
