कोरोनाबाट थप दुईको मृत्यु, मृतकको कुल संख्या ७५ पुग्यो
काठमाडौं, २५ साउन : नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा मृत्यु हुनेमा कास्की र पर्साका एक-एक जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कास्कीको पोखरा महानगरपालिका १९ का ६२ वर्षीय वृद्धको साउन २४ गते मृत्यु भएको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा–१९ का ६२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । १७ साउनमा अस्पताल भर्ना भएका उनी मधुमेहका विरामी थिए ।
यस्तै पर्साको वीरगञ्ज महानगरपालिका २ बस्ने २० वर्षीय महिलाको २४ गते निधन भएको उनले बताए । उपचारका लागि नारायणी अस्थायी कोभिड अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।
यो संगैं नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७५ पुगेको छ ।
