सर्लाहीमा साउन २७ गतेसम्म ‘निषेधाज्ञा’

मलंगवा, २० साउन : कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि सर्लाहीमा पनि निषेधाज्ञा घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बुधबार बिहान छ बजेदेखि लागु हुनेगरी साउन २७ गते राति १२ बजेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको बताए ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि सर्लाही जिल्लामा अति आवश्यकबाहेकका कामकाजमा रोक लगाउने निर्णय गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम सर्लाही जिल्लाभर लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय, सर्लाहीले चार बुँदे आदेश जारी गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र र जिल्ला विपद् व्यवस्थापन समितिको संयुक्त बैठकबाट यो निर्णय गरिएको प्रजिअ पौडेलले बताए ।

औषधोपचार, खाद्यान्न वस्तु खरिद र पेट्रोलियम पदार्थ खरिद जस्ता अतिआवश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर ननिस्कन सार्वजनिक सूचना मार्फत निर्देशन दिइएको छ । त्यस्तै, एम्बुलेन्स, बिरामी बोकेको गाडी, दमकल, दूध तथा खाद्यान्न ढुवानी गर्ने सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीले प्रयोग गर्ने बाहेक मोटरसाइकलसमेत कुनै सवारी साधन सडकमा ननिकाल्न र बिना कुनै काम पैदल समेत सडकमा नहिँड्न निर्देशन जारी गरिएको छ ।

‘अतिआवश्यक उपभोग्य सामग्री बिक्री गर्ने स्थायी प्रकृतिका पसल, इन्धन पसल, डिपो र औषधी पसल बाहेक दैनिक वा साप्ताहिक  हाटबजार, मेला नलगाउने । आर्थिक, राजनैतिक, सामाजिक, आर्थिक र अन्य कुनै पनि रुपमा भेला, आमसभा, सभा, सम्मेलन भोजभतेर जस्ता समूहमा भेला हुने कार्य नगर्ने, नगराउने’ प्रजिअ पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.