काठमाडौं उपत्यकाका ३८ सहित थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १६ साउन : गत २४ घण्टामा २२४ जनामा कोरोना देखिएको छ । यो सङ्ख्यासँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमितको कूल सङ्ख्या १९ हजार ७७१ पुगेको छ ।

कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या ७२.८ प्रतिशत छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा सबैभन्दा धेरै पर्सामा ४१ जना सङ्क्रमित थपिएका छन् । यस्तै काठमाडौंमा ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५/१५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यसैगरी बारामा चार, रौतहट, कास्की, दाङ र डोटीका तीन/तीन जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका दुई/दुई जना तथा रुपन्देही, भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, र बाँकेका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयले गर्ने कोभिड–१९ बारे नियमित प्रेस व्रिफिङमा आज प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चारजनाको मृत्यु भएको बताउनुभयो । मृतक सबै वीरगञ्जका हुन् भने उनीहरुमध्ये तीन जनाको वीरगञ्जमा र एक जनाको पाटन अस्पतालमा मृत्यु भएको हो । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ ।

सक्रिय सङ्क्रमित पाँच हजार ३१६ छन् । प्रदेश १ मा २२२, प्रदेश २ मा दुई हजार ३४, वाग्मती प्रदेशमा ५७२, गण्डकी प्रदेशमा ३२४, प्रदेश ५ मा ३८५, कर्णाली प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा एक हजार ४८३ छन् । नेपालमा कोभिड–१९ पिसिआर परीक्षण प्रति १० लाख जनसङ्ख्यामा १२ हजार ७८८ र १० लाख जनसङ्ख्यामा मृत्युको दर १.९ छ । आजको १० हजार ७६८ सहित जम्मा तीन लाख ७५ हजार ४१६ पीसीआर परीक्षण भएको छ । क्वारेन्टिनमा रहनुभएका व्यक्तिको सङ्ख्या १२ हजार १११ छ । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १५१ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १४ हजार ३९९ छन् ।

भोजपुर, सङ्खुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ गरी छ वटा जिल्लामा कोभिड–१९ सङ्क्रमण शून्य रहेको छ । पछिल्लो समय काठमाडौँ र बिहीबार मात्र सिरहामा आमसभा भएको खबर मन्त्रालयलाई प्राप्त भएको बताउँदै ती खबर दुःखद भएको प्रवक्ता गौतमले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “कसैले पनि कुनै पनि राजनीतिक पार्टी, सङ्घसंस्था वा कसैले पनि यस्तो खालको आमसभा नगर्नु हुन स्वास्थ्य मन्त्रालय विनम्र अनुरोध गर्दछ, काठमाडौँमा सङ्क्रमितको सङ्ख्या बढिरहेको र कोभिड–१९ नियन्त्रणबारे हरेक दिन आग्रह गर्दा पनि नियमको पालना भएको छैन, यसले हाम्रो जनस्वास्थ्यमा ठूलो दुर्घटना पनि ल्याउन सक्छ ।”

कतिपय नाकामा पनि नियन्त्रण नभएको उहाँको भनाइ छ । उहाँले भारतबाट कामदार नेपाल ल्याएर ओखलढुङ्गा पु¥याएको र २१ जना कामदारमध्ये १८ जनामा कोरोना पुष्टि भएको तथ्य प्रस्तुत गर्नुभयो । पछिल्लो समयमा समूहमा बस्नेमा बढी कोभिड–१९ देखापरेको बताउँदै जसको उदाहरण प्रहरी र स्वास्थ्यकर्मीमा कोभिड–१९ पोजेटिभ आएको छ भन्नुभयो । अहिलेसम्म माक्सको प्रयोग नगर्ने दुई लाख जनालाई सरकारले कारवाही गरिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्यरुपमा सबैमा माक्स लगाउन पनि आग्रह गरेको छ । मन्त्रालयले सेवाग्राहीको चाप बढी हुने स्थानमा भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ ।

हालसम्म संसारभरी एक करोड ७४ लाख ७९ हजार ६२३ जना व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । छ लाख ७७ हजार १८ जना व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको छ । हालसम्म कोभिडबाट निको हुनेको सङ्ख्या एक करोड नौ लाख ५१ हजार ९८० रहेको छ ।

उपत्यकाका थप १८ प्रहरीमा कोरोना सङ्क्रमण

काठमाडौँ, १६ साउन : काठमाडौँ उपत्यकाका १८ प्रहरी सहित २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट आज बिहानमात्र थप १८ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले हालसम्म काठमाडौँ उपत्यकामा ७२ र उपत्यका बाहिर २५० गरी ३२२ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको राससलाई जानकारी दिनुभयो । कोरोना पुष्टि भएकामध्ये १०१ जना निको भएर घर फर्किसकेका छन् ।

उपत्यकामा कोरोना पुष्टि भएका बिरामीलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उच्च अदालतका न्यायाधीशमा कोरोना

उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पचास वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ । यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब सङ्कलन गरी जाँच गरेकामा एक जनाको पोजेटिभ देखिएको हो । न्यायाधीशमा पनि कोरोना सङ्क्रमण पुष्टि भएपछि लकडाउनको अवधिमा गरिँदै आएका निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ ।

उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएशनसँग छलफल गरी यस्तो निर्णय गरिएको उच्च अदालतले जनाएको छ । यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.