काठमाडौं उपत्यकाका ४५ सहित थप २७४ जनामा कोरोना संक्रमण
काठमाडौं, १५ साउन : बितेको २४ घण्टामा थप २७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ४१ सहित थप २७४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितमा काठमाडौंका ४१, भक्तपुर र ललितपुका २–२ जना समेत रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना निको भएर २२७ जना डिस्चार्ज भएका छन् भने निको हुनेको कुल संख्या १४ हजार २४८ पुगेको छ । निको भएकासहित हालसम्म कूल संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा २२७ जना निको भएर घर फर्किएका छन् । कुल कोरोना निको हुनेको संख्या १४ हजार २४८ जना पुगेका छन् ।
यसअघि काठमाडौं उपत्यकामा बुधबार १५ जना र मंगलबार ५३ जना कोरोना संक्रमित थपिएका थिए ।
कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतकको कुल संख्या ५२ पुग्यो
नेपालमा कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५२ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
मृत्यु हुनेमा मोरङको सुनवसी—८ का ४५ वर्षीय पुरुष रहेका छन् । ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । अस्पतालको भेन्टिलेटरमा उपचारकै क्रममा उनको निधन भएको हो ।
यस्तै, पर्साको वीरगञ्ज-७ का ७० वर्षीय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । मुटु र मधुमेह रोगका विरामी उनी एक निजी अस्पतालमा निमोनियाको उपचार गराइरहेका थिए ।
यसैगरी पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ ।
साउन ७ गते कोरोना पुष्टि भएका ती पुरुष मृगौला सम्बन्धी समस्याबाट पीडित थिए । उपचारका लागि नारायणी अस्पताल भर्ना भएका थिए । त्यहाँ आइसीयूमा राखेर उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको प्रवक्ता डा. गौतमले बताए ।
योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५२ पुगेको छ ।
