पुष्पलालका पदचिह्नकै कारण ऐतिहासिक परिवर्तन : वरिष्ठ नेता नेपाल

बयालिसौँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाललगायत । तस्वीर: चन्द्रकला क्षेत्री

काठमाडौँ, ६ साउन : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा कार्यक्रम गरेको छ ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा प्रतिष्ठानका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, पार्टीका उपाध्यक्ष वामदेव गौतम, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको थियो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले पुष्पलाललाई स्मरण गरिरहेका बेला नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्दतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिकरुपमा स्पष्ट बनाउन आवश्यक रहेको औँल्याउनुभयो । उहाँले निरङ्कुश तथा सामन्ती राजतन्त्रको अन्त्य, केन्द्रिकृत राज्यसत्ताको ठाउँमा सङ्घीय प्रणाली समावेशी लोकतन्त्र जस्ता विषयले मुलुक सबैको साझा हो र कसैको विशेषाधिकार छैन भन्ने कुरा व्यवहारमा स्थापित गर्न सफल भएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री तथा नेकपा कम्युनिष्ठ पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल । तस्वीर: चन्द्रकला क्षेत्री

प्रतिष्ठानका सदस्य विष्णु रिजालले यसपटक हामीले कोभिड–१९ गर्दा पनि पुष्पलालप्रति श्रद्धाञ्जलि व्यक्त गर्न कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा नेता नेपालले मात्र मन्तव्य राख्नुभएको थियो । उहाँले दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर पुष्पलालको सपनालाई साकार मात्र पारेको नभई नेपाली जनताको मुक्ति आन्दोलनलाई गुणात्मकरुपमा एक कदम अघि बढाउन ठोस योगदानसमेत गरेको बताउनुभयो । उहाँले पुष्पलालले स्थापना गरेका पद चिह्नमा दृढतापूर्वक हिँड्न सकेकै कारण हामीले नेपालमा ऐतिहासिक परिवर्तन गर्न सकेको उल्लेख गर्नुभयो ।

पुष्पलालको नेतृत्वमा नेपालमा पहिलोपटक विसं २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गर्नुभएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसका अवसरमा किर्तिपुरमा रहेको पुष्पलालको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सर्वसाधारण । तस्बिर: प्रदीपराज वन्त
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.