गाउँपालिका अध्यक्ष कार्कीका आक्रमणकारीलाई कारवाहीको माग

सुमित्रा फुयाल । केराबारी, मोरङ, ३ साउन : गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र केराबारी गाउँपालिकाले मोरङ जिल्ला केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्षमै आक्रमण गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

महासङ्घका महासचिव वंशलाल तामाङले आज विज्ञप्ति जारी गरी शुक्रबार गाउँपालिकाको कार्यालयमा काम गरिरहेका बेला आएको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको उल्लेख गर्नुभएको छ । यस्तो घटनामा महासङ्घको ध्यानाकर्षण भएको बताउँदै उहाँले नागरिकको सेवामा लागेका जनप्रतिनिधिमाथि कार्यकक्षमै ज्यान मार्ने उद्देश्यले आक्रमण भएकाले दोषीमाथि कारवाही गर्न माग गर्नुभएको हो ।

घाइते कार्कीको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आईसियुमा उपचार भइरहेको छ । महासङ्घले उहाँको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

अध्यक्ष कार्कीमाथि साउन २ गते गाउँपालिकाको कार्यालयमा काम गरिरहेका बेला करिव ११:५० बजेको समयमा केराबारी गाउँपालिका वडा नं. १० बस्ने भुवन (भाले) भन्ने किशोर सिंह ठकुरीको समुहले टाउको, छाती, पेट र नाडीमा खुकुरी तथा चक्कु प्रहारगरी सख्त घाईते बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.