रियल मड्रिडलाई ३४ औँ ला लिगाको उपाधि
काठमाडौं,
यससँगै रियलले ३४ औं पटक ला लिगाको उपाधि जितेको छ । रियल सर्वाधिक धेरै ला लिगा उपाधि जित्ने क्लब हो ।
बिहीबार राति भएको खेलमा भिल्ला रियललाई २-१ गोल अन्तरले पराजित गर्दै रियलले एक खेल अगाबै लिगको उपाधि जितेको हो ।
यस्तै रियलले तीन वर्षपछि ला लिगाको उपाधि जितेको हो । यस अघि सन् २०१६/१७ को सिजन रियलले उपाधि जितेको थियो ।अस्थाई घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । भिल्लाका भिसेन्ट इबोर्राले एक गोल फर्काए ।
पहिलो हाफको २९ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । उनले लुका मोड्रिचको पासलाई सदुपयोग गरे ।
खेलको ७७ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई २-० को अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा भिल्लाका इबोर्राले एक गोल फर्काएपनि रियल २-१ ले विजयी भयो ।
यस्तै खेलको इन्जुरी समयमा रियलका मार्कुस एसेन्सियोले गोल गरेका थिए । तर, भीएआरको सहायताले उनको गोललाई रेफ्रीले मान्यता दिएन ।
भिल्लामाथिको जितसँगै रियलले दोस्रो स्थानको बार्सिलोनालाई ७ अंकले पछि पार्दै उपाधि चुमेको हो ।
रियलले ३७ खेलमा ८६ अंक जोडेको छ । बार्सिलोनाको ७९ अंक रहेको छ । ७५ अंक जोडेको भिल्ला पाँचौं स्थानमा रहेको छ ।
बार्सिलोना बिहीबार राति नै ओसासुनासँग २-१ ले पराजित भएको छ ।
‘यो अरुभन्दा विशेष छ । किनभने ला लिगा जित्नका लागि ठूलो मिहिनेत चाहिन्छ,’ रियल म्याड्रिडका म्यानेजरले भने । सन् २०१७ पछि रियलको यो पहिलो उपाधि हो । यो दशक रियलले ला लिगाभन्दा च्याम्प्यिन्स लिगको उपाधि बढी जितेको छ । पछिल्लो ९ सिजनमा रियलको यो मात्र तेस्रो लिग उपाधि हो ।
जिदानको पहिलो कार्यकालमा रियलले कीर्तिमानी लगातार तीनपटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
