कोरोना संक्रमणबाट रौतहटका एक युवकको मृत्यु

काठमाडौं, ३१ असार : कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटका ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनको असार ३१ गते दिउँसो साढे २ बजे उपचारका क्रममा निधन भएको जनाइएको छ ।

उनका दाजुको भारतमा कोरोनाका कारण मृत्यु भएको थियो । उनी आफ्ना दाजुको अन्तिम संस्कारका लागि भारतको बैंग्लोर गएका र  असार २४ गते नेपाल फर्किएका थिए । उनी नेपाल फर्किएसँगै रौतहटकै एक क्‍वारेन्टिनमा रहेका थिए ।

उनलाई रुघाखोकी र ज्वरोको समस्या भएपछि असार २९ गते नारायणी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।

उनको सोही दिन नमुना संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

उनलाई समस्या भएपछि आज बिहान भेन्टिलेटरमा सारिएको थियो ।

पीसीआरको रिपोर्ट उनको बुधबार नै पोजेटिभ आएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेमा सिन्धुपाल्चोक २, बाँके २, गुल्मी ३, बाराका १, ललितपुर २, अर्घाखाँची २, दैलेख २, बाजुरा १, दोलखा १, पाल्पा १, सुर्खेत १, कैलाली ४, डोल्पा १, स्याङ्जा २, चितवन १, विरगञ्ज १, पर्सा १, दाङ १, रौतहट २, अछाम १, म्याग्दी १, काठमाडौं ३, गोरखा १, रुपन्देही १, बाग्लुङमा १ जना गरी ३९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.