काठमाडौँ उपत्यकामा रेबिजविरुद्धको खोप लगाउने वृद्धि

काठमाडौँ, ३१ असार : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक झण्डै डेढ सय रेबिजविरुद्धको खोप लगाउन आइरहेका छन् ।
बन्दाबन्दी खुकुलो भएसँगै अस्पतालमा सामान्यावस्थामा जत्तिकै सङ्ख्यामा बिरामी आइरहेको अस्पतालले जनाएको छ । सामान्यावस्थामा दैनिक डेढ सयदेखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताउनुभयो ।
बन्दाबन्दीको शुरुआती दिनमा यो सङ्ख्या दैनिक झण्डै एक सय थियो । उहाँका अनुसार अहिले काठमाडौँ उपत्यका मात्रै नभएर बाहिरका टाढाटाढाका जिल्लाबाट समेत बिरामी आइरहेका छन् । उहाँले भन्नुभयो, “निजी सवारीसाधन चल्न थालेकाले धेरैलाई आउन सजिलो भएको छ ।”
कोभिड–१९ को उपचारका लागि तोकिएको अस्पतालले अहिले अधिकांश रोगको उपचार अरू अस्पतालमा सारेको छ । प्राविधिक रुपमा कठिन हुने भएकाले रेबिजविरुद्धको उपचार भने अन्यत्र सार्न नसकिएको अस्पतालले जनाएको छ । अस्पतालको एउटा कुनाबाट खोप सेवा सञ्चालन भइरहेको निर्देशक डा राजभण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय समस्याको उपचार यही अस्पतालमा मात्रै हुने भएकाले बिरामी टाढाटाढाबाट समेत आइरहेका छन् ।”
अस्पतालमा कोभिड–१९ को परीक्षण भइरहेको छ । दैनिक सात सयदेखि एक हजार तीन सय जनासम्म परीक्षणका लागि आइरहेका छन् । अस्पतालले भने आवश्यक भए/नभएको हेरेर मात्रै परीक्षण गर्दै आएको छ । अस्पतालमा पिसिआर परीक्षणका लागि आएकामध्ये २० देखि २५ प्रतिशको मात्रै परीक्षण भइरहेको छ ।
अस्पतालले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक श्यया पनि बढाइरहेको जनाइएको छ ।
यी हुन् रेबिज नियन्त्रणका उपाय
- छाडा कुकुर वा शंकास्पद जनावरले टोकेमा जतिसक्दो चाँडो साबुन पानीले धोएर स्प्रिट लगाउनुपर्छ । सँगै एक्सपोजर खोप, हाइपर इम्युन सिरम (आइजिजी) र टिटानस खोप अनिवार्य लगाउनुपर्छ ।
- रेबिजविरुद्धको खोप मासुमुनि र छालामुनि गरी दुई किसिमले दिइन्छ । मासुमुनिको सुई चार र छालामुनिकोे सुई तीनपटक लगाउनुपर्छ ।
- यदि, कुकुर वा अन्यले टोकेमा सो जनावर घरपालुवा वा भुस्याहा कस्तो भन्ने पत्ता लगाउनुपर्छ । रेबिजविरुद्ध खोप लगाएको/नलगाएको यकिन गर्नुपर्छ । पशुलाई कम्तीमा १० दिन निगरानीमा राख्नुपर्छ । १० दिनभित्र पशु आफैँ मरेको खण्डमा प्रयोगशालामा परीक्षण गराई रेबिज भए/नभएको पत्ता लगाउन सकिन्छ ।
- रेबिजविरुद्धको खोप वेलैमा लगाउनुपर्छ । जसले गर्दा रोग लाग्नै नपाओस् ।
