नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोकियो

काठमाडौं, २५ असार : नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरूको प्रसारण रोकिएको छ ।

भारतीय मिडियाले पत्रकार आचारसंहिता विपरित सामग्री प्रशारण गरेपछि केही केबल अपरेटरहरुको बैठकले स्वतस्फूर्त रुपमा भारतीय न्यूज च्यानल बन्द गर्ने घोषणा गरेका छन् ।

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वत:फुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो ।

नेपालमा भारतीय न्यूज च्यानलको प्रशारण रोक्ने निर्णयबारे जानकारी छैनः सञ्चार मन्त्रालय

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय न्यूज च्यानलको प्रशारण रोक्ने निर्णयबारे मन्त्रालयलाई जानकारी नरहेको बताएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीले मन्त्रालयले कसैलाई पनि भारतीय न्यूज च्यानलको प्रशारण गर्नलाई निर्देशन नदिएको भन्दै केही केवल अपरेटरहरुले यसबारे निर्णय लिएको बारे आधिकारिक जानकारी नरहेको जानकारी दिए ।

बिहीबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री डा युवराज खतिवडाले  भारतीय सञ्चार माध्यममा प्रधानमन्त्री र नेपाललाई जोडेर आउका विषयवस्तु प्रति सरकारको ध्यानाकर्षण भएको जनाएका थिए ।

राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र राष्ट्रहितमा आँच आउने गरी कुनै पनि सामग्री प्रकाशन र प्रशारण नगर्न आग्रह गर्दै उनले भारतीय मिडियाहरुमा देखिएको पछिल्लो प्रवृतिका लागि राजनीतिक र कानूनी उपचार खोज्नुपर्ने बताएका थिए ।

भारतीय टिभी च्यानल जी न्यूजले प्रधानमन्त्री केपी शर्मा र चिनियाँ राजदूतलाई जोडेर आपत्तिजनक सामग्री प्रकाशित गरेपछि भारतीय मिडियाको सोही सामग्रीलाई लिएर प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघले पनि कडा आपत्ति जनाएको छ ।

नेपालले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर गत वैशाख ७ मा नयाँ नक्सा जारी गरेयता भारतीय टेलिभिजन च्यानलले अतिरञ्जित विषय वस्तु प्रसारण गर्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.