काठमाडौं उपत्यकामा थपिए २३ जना कोरोना संक्रमित
काठमाडौं, २४ असार : काठमाडौं र ललितपुरमा बुधबार २३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं र ललितपुरका २३ जना नयाँ संक्रमित थपिएका हुन् ।
गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी पाटन अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जना संक्रमित थपिएका हुन् ।
यसअघि सोमबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५४ जनामा र मंगलबार २८ जनामा कोरोना संक्रमण देखिएको थियो ।
