मास्क नलगाई घरबाहिर निस्किए पक्राउ गर्न गृहको निर्देशन
काठमाडौं, २२ असार : गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रधान कार्यालयलाई यस्तो निर्देशन दिइएको जानकारी दिए ।
उनले भने, “यसअघि नै निर्देशन दिइएको हो । पालना नभएको पाइएकाले फेरि निर्देशन दिएका हौं । मास्क प्रयोग गर्ने, २ मिटरको दूरी कायम गर्नुपर्ने र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न गराउन निर्देशन दिएका हौं ।”
निर्देशनको अवज्ञा गरेको पाइए पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने प्रवक्ता शर्माले बताए ।
कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको सरकारको भनाइ छ ।
जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएको छ ।
