नेपालमा कोभिड-१९ बाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो
काठमाडौं, २० असार : नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । रुपन्देही र गोरखाका एक-एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रुपन्देहीको देबदहका ७५ वर्षीय पुरुषको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको स्वाबको रिपोर्ट १८ गते आएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी कोरोना संक्रमणबाटै गोरखाको पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुषको पनि गएराति मृत्यु भएको छ ।
असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए । १८ गते स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा हिजो पोजेटिभ देखिएको थियो । निमोनियया र डाइबेटिजका दिर्घरोगी उनको गएराति मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेमा सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ४, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, विरगञ्जका १, पर्साका १, दाङका १, रौतहट १, अछाम १, म्याग्दी १ र काठमाडौं १, गोरखा १, रुपन्देहीमा १ जना गरी ३४ जनाको मृत्यु भएको छ ।
