क्यान्सर र मधुमेहका बिरामीको कोरोना परीक्षण गरिने
काठमाडौं, १९ असार : सरकारले क्यान्सर, डाइविटिज (मधुमेह) जस्ता बिरामीहरुको कोरोना परीक्षण गर्ने भएको छ ।
अब क्याक्सर र डाइबिटिजका विरामी, इमर्जेन्सी र आईसीयूमा भर्ना भएका बिरामी र पकेट एरियामा बस्नेहरुको र स्वास्थ्यकर्मीहरुको पनि परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
सरकारी, सामुदायिक र नीजि अस्पतालहरुमा समेत कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाइएको उनले बताए ।
पछिल्ला दिनहरुमा विदेशबाट आई क्वारेण्टिनमा बस्नेहरुको सङ्ख्या घट्दै जाँदा प्रयोगशालामा नमुना परीक्षणको चाप पनि घटेको छ । त्यसैले परीक्षणको दायरा बढाई समुदायमा संक्रमण भएको वा नभएको थाहा पाउन यो निर्णय गरिएको हो।
प्रवक्ता गौतमले भने, ‘ हामी सबै मानिसको परीक्षण त गर्न सक्दैनौं तर जोखिम समूह र समुदायको जाँच गर्दा धेरै हदसम्म संक्रमण पत्ता लाग्छ ।’
आज शुक्रबारदेखि नै यो काम सुरु गरेको समेत उनले बताए ।
