शिक्षाविद् अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन

काठमाडौं, ७ असार : समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको हिजो ८९ वर्षको उमेरमा निधन भएको छ ।

उहाँको काठमाडौँको महाराजगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । १७ वर्षअघि उनलाई सुरूमा घाँटीमा क्यान्सर देखिएको थियो भने त्यसको केही वर्षपछि स्तन क्यान्सर भएको थियो ।

काठमाडौँका डिल्लीबजारमा विसं १९८८ असारको हरिशयनी एकादशीमा जन्मनुभएका जोशीको काठमाडौँस्थित पद्मकन्या क्याम्पस स्थापना गर्नमा प्रमुख योगदान रहेको छ । आणविक वैज्ञानिक डा बलराम जोशीसँग विवाह गर्नुभएका उहाँका दुई छोरी र एक छोरा हुनुहुन्छ । जोशीले बनारसबाट राजनीति र संस्कृत शिक्षा तथा बेलायतबाट उच्च शिक्षा हासिल गर्नुभएको थियो ।

जोशीको साहित्यमा समेत रुचि थियो । विसं २०३२ सालमा ‘कथासङ्ग्रह’ निस्किएको छ । उहाँको उत्कृष्ट प्रकाशन प्रालिले विसं २०७४ वैशाखमा ‘अक्षर साधना र गोँधुली साँझ’ भन्ने आत्मकथासमेत प्रकाशन गरेको त्यसका अध्यक्ष हरिप्रसाद रिमालले जानकारी दिनुभयो । जोशीका ‘कल्पना कथासंग्रह’ (बि.सं. २०३१), ‘क्यान्सरः वरदान’, ‘वृद्धा अवस्था: जीवनको श्रीपेच’ र ‘दीक्षा’ कृति प्रकाशित छन्।

जोशीको लगाम सामाजिक र शिक्षा क्षेत्रमा बढी रहेको थियो । आध्यात्मिक चिन्तक जोशीले युवराज्ञी हुँदा पूर्व रानी ऐश्वर्यलाई पढाउनुभएको रिमालले बताउनुभयो । तारागाउँ विकास समिति खडा गर्नमा उहाँको महत्वपूर्ण योगदान छ । पहिलो महिला क्याम्पस प्रमुख हुनुहुन्छ ।

रिमालका अनुसार उहाँ नेपाली नारीलाई शिक्षाको उज्यालो छर्न अथक प्रयास गर्नुभएको छ । विकृति–विसङ्गति हटाई आध्यात्मिक चेतना जगाउन उहाँले भूमिका खेल्नुभएको छ ।

उनले गोरखा दक्षिण बाहु दोश्रो, त्रिशक्ति पट्ट तेश्रो, महेन्द्र विद्या भुषण पहिलो, २०७२ सालको जगदम्बा श्री पुरस्कार प्राप्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.