सैन्य गठबन्धनसँग जोडिने विदेशी सहयोग लिँदैनौं : प्रचण्ड
काठमाडौँ, ५ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सैन्य गठबन्धनसँग जोडिने कुनै पनि विदेशी सहयोग नेपाललाई अस्वीकार्य हुने बताएका छन् ।
नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को संयुक्त भर्चुअल कार्यशालालाई शुक्रबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयबाट सम्बोधन गर्दै प्रचण्डले नेपाललाई विकासको चरणमा रहेकाले ठूलो मात्रामा सहयोग चाहिए पनि सैन्य गठबन्धनसँग जोडिन नसकिने बताएका हुन् ।
नेकपाभित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर चर्को विवाद भइरहेका बेला अध्यक्ष दाहालले यस्तो बताएका हुन् । एमसीसी पनि अमेरिकी इन्डो प्यासिफिक सैन्य रणनीतिमा जोडिएको भन्दै नेकपामा अहिले तीव्र विवाद चलिरहेको छ । यसबारेमा औपचारिकरुपमा नबोलेका प्रचण्डले सिपिसीसँगको भिडियो सम्वादमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एमसिसीको पक्षमा पार्टीभित्र बहुमत जुटाउने कसरतमा रहेका बेला अध्यक्ष दाहालले सैन्य गठबन्धनमा जोडिने आशयबाहेकका सहयोग नेपालले लिन तयार रहेको बताएका छन् । यस भनाइसँगै प्रचण्डले एमसीसीलाई पनि संशोधन नगरी पास गर्न नसकिने संकेत गरेका छन् ।
अध्यक्ष दाहालले एमसीसी र अमेरिकाको नाम उच्चारण नगरी नेपालले असंलग्न नीति लिएकाले विश्वका कुनै पनि शक्तिको सैन्य गठबन्धनमा जोडिने गरी सहयोग लिन नसकिने प्रष्ट सन्देश दिएका छन् । ‘नेपालले असंलग्न विदेश नीति अवलम्बन गर्दै आएको छ । नेपालको संविधानसँग बाझिने गरी, कुनैपनि सैन्य गठबन्धनमा आवद्ध हुनुपर्ने सहयोग नेपाललाई स्वीकार्य हुन सक्दैन,’ दाहालले भने, ‘यहाँहरुलाई थाहा नै छ, नेपाल असंलग्न विदेश नीतिमा विश्वास गर्छ ।
नेपाल विकासको चरणमा रहेकाले हामीलाई ठूलो सहयोगको जरूरी छ । तर नेपालको सार्वभौम स्वतन्त्रता र असंलग्न विदेश नीतिलाई समर्थन गर्ने मित्रराष्ट्रहरूले दिने सहयोग स्वीकार गर्न हामीलाई कुनै समस्या हुने छैन ।’ प्रचण्डले सम्बोधनका क्रममा पटक पटक नेपाल सरकार र नेकपाले संविधान अनुसार विदेश नीति असंलग्नातामा आधारित अपनाइरहेको ध्यानाकर्षण गराए ।
छिमेकीसँग द्वन्द्व चाहँदैनौँ
अध्यक्ष दाहालले नेपालले कुनै पनि छिमेकीसँग द्वन्द्व नचाहेको पनि बताएका छन् । पछिल्लो समय भारतसँग देखिएको विवादबारेमा बोल्दै उनले आफ्ना छिमेकीहरुसँगको विवाद समाधानका लागि नेपाल वार्ताकै पक्षमा रहेको बताए ।
‘नेपालले कुनै पछि छिमेकीसँग द्वन्द्व चाहँदैन । द्विपक्षीय विषयहरू संवादबाट समाधान गर्न नेपाल तत्पर छ । हामी छिमेकी राष्ट्रसँगका द्विपक्षीय विषय वार्ता र संवादबाट समाधान गर्न चाहन्छौँ’, उनले अगाडि भने, ‘नेपालको पनि आफ्नो सार्वभौम सत्ता र स्वतन्त्रता छ । हामी सार्वभौम समानता, आपसी सम्मान र समझदारीको जगमा बसेर वार्ता गर्न तयार छौं । छिमेकी राष्ट्रहरुले पनि हाम्रो यो कुरा बुझ्न जरूरी छ ।’
चीनसँग समस्या छैन
अध्यक्ष दाहालले नेपाल र चीनबीच कुनै पनि खालको समस्या नरहेको पनि बताएका छन् । उनले नेपाल सदैव एक चीन नीतिमा प्रतिवद्ध रहेको पनि बताएका छन् । अध्यक्ष दाहालले चीनसँग भूगोल, जनसंख्या र विकासको तुलना गर्न नसकिए पनि दुई मित्र राष्ट्रबीचको सम्बन्धमा कुनै पनि किसिमको समस्या नरहेको बताए ।
दाहालले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै चीनसँग ताइवानको शान्तिपूर्ण एकीकरणका लागि आफूहरुले समर्थन गर्ने पनि उल्लेख गरे । ‘हामी एक चीन नीतिमा प्रतिवद्ध छौं’, उनले भने, ‘हङकङ चीनको भूमि हो । नेपालले तिब्बत र सिन्जियाङमा चीनको पक्षमा उभिँदै आएको छ ।’ सम्बोधनका क्रममा अध्यक्ष दाहालले नेपालले चीनसँगको सहकार्यलाई अझै बलियो बनाउन चाहेको पनि बताएका छन् ।
‘नेकपा सिपिसीसँग दुई देशको साझा विकास, शान्ति, हार्दिकता र समृद्धिको पक्षमा सहकार्य गर्न तयार छ’, उनले भने, ‘चीनको बेल्ट रोड इनिसियटिभ नेपालसहितका विकासको चरणमा रहेका देशहरूलाई एउटा अवसर बनेर आएको छ ।’ अध्यक्ष दाहालले कोभि-१९ को संकटबाट चीन बाहिरिइसकेको बताउँदै नेपालले अहिले चीनले भोगे जस्तै संकटको सामना गरिरहेको पनि स्मरण गराए ।
‘भूकम्प र कोभिड-१९ को महामारीमा चीनले नेपाललाई सदैव साथ दियो’, उनले भने, ‘चीनको यो साथका लागि नेपाल आभार व्यक्त गर्दछ । जुनसुकै परिस्थितिमा पनि चीनले नेपाललाई गरेको सहयोग महत्वपूर्ण छ । त्यसैले नेपाल-चीन दुवै सुख, दुःखका सहयात्री पनि हुन् ।’
कोरोनामा राजनीति नहोस्
दाहालले कोभिड-१९ को संकट विश्वकै साझा समस्या रहेको बताउँदै यसलाई कसैको आलोचनाको विषय बनाउन नहुनेमा पनि जोड दिए ।
उनले कोभिड-१९ सँग चीन एक्लै लडिरहँदा पश्चिमाहरुले गरेको आलोचनालाई राजनीतिकरणको संज्ञा दिए । ‘कोरोना भाइरसको राजनीतिकरण उचित होइन, नेपाल त्यस्तो चाहँदैन । कुनै पनि भाइरसको राष्ट्रियता, जात, सीमा र राजनीतिक पहिचान हुँदैन’, उनले भने, ‘केही देश र तिनका सञ्चारमाध्यमहरुले कोरोना भाइरसको राजनीतिकरण गरेको देखेको छु ।
यो संकटमा राजनीतिकरण नगरी विश्वकै साझा पहलकदमी अहिलेको आवश्यकता हो ।’ अध्यक्ष दाहालले कोभिड-१९ नियन्त्रणमा चीनले खेलेको भूमिकाको खुलेर प्रशंसा गरे । उनले कोभिड-१९ नियन्त्रणमा नेपाललाई गरिरहेको सहयोगप्रति पनि आभार व्यक्त गरे ।
दाहालले कोभिड-१९ को संकट टरेपछि आफू चीन भ्रमणमा आउन तयार रहेको पनि बताए ।

उक्त भिडियो कार्यशालामा नेकपाका तर्फबाट स्कुल विभाग प्रमुख तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि सहभागी भए ।
उनले कोभिड-१९ नियन्त्रणमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिए । पोखरेलले यस्ता संवाद र छलफलले सिपिसी र नेकपाबीच अझै घनिष्ठता बढ्ने पनि उल्लेख गरे ।
पोखरेलले रक्षामन्त्रीको हैसियतमा नेपालमा चीनविरोधी कुनै पनि गतिविधि हुन नदिने पनि प्रतिवद्धता जनाएका छन् । नेपाल कोभिड-१९ विरुद्ध होमिइरहेका बेला सिपिसीसँग भएको यो संवादलाई अर्थपूर्ण मानिएको छ ।
अर्कातिर अमेरिकी परियोजना एमसीसीलाई लिएर नेकपा अलमलमा रहेका बेला सिपिसीसँग यो संवाद भएको हो ।
