राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध

काठमाडौं, ५ असार : लकडाउनको समयमा नागरिकको सुरक्षालाई लक्षित गरी सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ ।

कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले गृहमन्त्रालयले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाउने व्यवस्था जारी गरेको हो ।

आवतजावत गर्नुपरेमा वा कार्यस्थलमा २ मिटरको सामाजिक दूरी बनाइ काम गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । तोकिएको कार्यस्थलमा स्यानिटाइजर मास्क अनिवार्य प्रयोग गर्नुपर्ने छ । अनावश्यक काममा बाहिर आवतजावत नगर्न गृहमन्त्रालयले आग्रह गरेको छ ।

यसैगरी सेवा प्रदायक संस्थाहरूले दुई सिफ्टमा कार्यालय सञ्चालन गर्नुपर्ने भनिएको छ भने कार्यालय प्रवेश विन्दुमा अनिवार्य रूपमा ज्वरो नाप्ने, स्यानिटाइजर वा साबुन पानीले हात धोएर मात्र प्रवेश गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान सरकारले बनाएको छ।

Evening lights of Thamel

कार्यालयमा सबैले अनिवार्य मास्क लगाउनैपर्ने, कर्मचारीहरूबीच दुई मिटरको दूरी कायम हुनुपर्ने, एउटै कोठामा धेरै कर्माचारी बस्नपर्ने भएमा निश्चित दूरी कायम गर्नुपर्ने नियम सरकारले बनाएको छ ।

सम्भव भएसम्म अनलाइन सेवामार्फत् सेवा दिने र सो व्यवस्था नभएमा सेवाग्राहीसँगको सम्पर्क दूरीलाई कम गर्न झ्यालबाट सेवा दिने व्यवस्था मिलाउन र शुल्क वा राजस्व लिँदा नगदमा नभई बैंक भौचरमार्फत् कारोबार गर्न अनिवार्य गरिएको छ ।

विवाह, व्रतबन्ध, मृत्यु संस्कार लगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने र अनिवार्य सामाजिक दूरी कायम गर्नुपर्नेछ ।

वृद्ध मानिस, अशक्त तथा सुत्केरी, महिला र १० वर्ष तलका बालबालिकालाई बाहिर ननिस्कन प्रोत्साहन गर्नुस्, विज्ञप्तिमा भनिएको छ, मालवाहक सवारीसाधनमा चालक र सहचालक मात्रै ओसारपसार गर्नुपर्नेछ ।

भारत वा अन्य मुलुकबाट आउनेले स्वेच्छिक क्वारेन्टाइन वा होटलमा बस्दा शान्तिपुर्ण तरिकाले बस्नुपर्ने छ। सामाजिक दूरी अनिवार्य पालन गर्नुपर्नेछ ।

रातिको समयमा नागरिकलाई हिँडडुल गर्न कडाइ गर्ने व्यवस्था गरेको हो । रातिमा हुने हिँडडुलको अनुगमन भने प्रहरीले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.