२७३ जनामा कोरोना पुष्टि भएपछि महोत्तरीको सम्सी गाउँपालिका सिल
महोत्तरी, ३ असार : महोत्तरीको सम्सी गाउँपालिका बुधबार (आज) राति १२ बजेदेखि ७२ घण्टाका लागि पूर्णरुपमा सिल गरिने भएको छ ।
महोत्तरीको सम्सी गाउँपालिकाका विभिन्न क्वारेन्टिनमा रहेका व्यक्तिहरुमध्ये २७३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो गाउँपालिका ७२ घण्टाका लागि सिल गरिएको छ ।
यस गाउँपालिकामा बुधबार एकैदिन १८२ जनामा काेरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको सम्पूर्ण क्षेत्र बुधबार राति १२ बजेदेखि सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । यसअघि पनि सम्सी गाउँपालिकामा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाका सम्पूर्ण क्षेत्र ७२ घण्टाका लागि सिल गरिएको जानकारी दिएको हो ।
जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले आजदेखि असार ६ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक सेवाबाहेक सम्पूर्ण क्रियाकलाप निषेध हुने गरी सिल गरिएको प्रशासनले जनाएको छ ।

