दैलेखमा २० महिने बालकसहित २२ जनाले जिते कोरोना

दुल्लु, ३१ जेठ : दैलेखमा २० महिने बालकसहित २२ जनाले कोरोना जितेका छन् ।

जिल्लाको सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालय तरताङ आइसोलेशन वार्डमा उपचाररत २२ जनाले कोरोना जितेका हुन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएका उनीहरुले कोरोना जितेसँगै शुक्रबार घर फर्किएका हुन् । दोस्रोपटक गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांशले दुई हप्ता र केहीले २० दिनमा कोरोना जितेर घर फर्किएका छन् । योसँगै दैलेखमा कोरोना जित्नेको सङ्ख्या २६ पुगेको छ । कोरोना जितेर फर्किने सबै भारतबाट आएका हुन् ।

रोगको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको दैलेख अस्पतालका प्रमुख डा निरञ्जन पन्तले जानकारी दिनुभयो । स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत तथा कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार नारायण नगरपालिका वडा नं २ का २१ र ४१ वर्षीय पुरुष, वडा नं ३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष तथा वडा नं ४ का २० महिनाको बालक एंव २५, २५ र ४० वर्षीय पुरुषले कोरोना जितेका हुन् ।

दैलेखमा कोरोना जीतेर घर फर्किएकालाई बिदाइ गरिँदै । तस्बिर : हिक्मतबहादुर नेपाली

यसैगरी वडा नं ६ का २७ वर्षीय पुरुष, वडा नं ८ का २०, २० र २८ वर्षीय पुरुष, वडा नं ९ का २० र ५० वर्षीय पुरुष, वडा नं १० का १७, १७, २० र २३ वर्षीय पुरुष तथा वडा नं ११ का १८ र २७ वर्षीय पुरुषले कोरोना जितेको फोकल पर्सन रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.