कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि
अर्घाखाँची, २९ जेठ : मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनुभयो । गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा ५७ वर्षका एक पुरुषको बाटोमै मृत्यु भएको थियो ।
वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका उहाँको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको हो । घाँटीको शल्यक्रिया समेत गरेका उहाँलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार उपचारपछि घर फर्कदै गरेका उहाँको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । योसँगै अर्घाखाँचीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
काठमाडौँ, २९ जेठ : सामाखुसीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ कपुरधारास्थित सडकमा आज बा९५प ६४८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ न्यूरोडका ३४ वर्षीय निरज सिख्राकारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते सिख्राकारको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा काठमाडौँ–१६ नयाँबजारका २६ वर्षीय बेरन लामा सामान्य घाइते भएका छन् ।
घाइते लामालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
