कक्षा १० को एसईई परीक्षा नलिने सरकारको निर्णय

काठमाडौँ, २९ जेठ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसईई परीक्षा लिने विकल्प दिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्मा पेश हुने सङ्घीयताअनुरुपको शिक्षा ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा १० अन्तिम परीक्षाका सम्बन्धमा यो यसरुपमै दीर्घकालीन रुपमा व्यवस्थापन हुने जानकारी दिनुभयो ।

शैक्षिक सत्र २०७६ को परीक्षा साविकबमोजिम २०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको भएता पनि कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरी कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गतेको निर्णयानुसार स्थागित भएको थियो ।

मन्त्री पोखरेलले हाल देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, कतिपय विद्यालयमा क्वारेन्टिन सञ्चालन गरिएको र रोगको संक्रमणको जोखिमका बीच विद्यालयमा परीक्षा केन्द्र कायम गरी विगतमा झैँ परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेको सन्दर्भमा विद्यार्थीको अध्ययन निरन्तरता तथा माथिल्लो तहमा अध्ययनको अवसर सुनिश्चितताको दायित्वबोध गरेर मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिनुभयो ।

एसईईका विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिन्छ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज भए पनि विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने बताएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ का कारण यो वर्ष एसईई परीक्षा नलिने निर्णय गरेलगत्तै मन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन ।

‘विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ’, पोखरेल भन्छन्, ‘यससम्बन्धी थप विवरण सम्बन्धित निकायहरूले उचित समयमा उपलब्ध गराउने छन् ।’

२०७६ चैत ६ गतेदेखि सञ्चालन हुने गरी प्रकाशित परीक्षा ५ चैतमा स्थगन गरिएको थियो । देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.