एम्बुलेन्स र गाडीले ओसार्न मानेनन्, संक्रमितको इन्सपेक्टरद्वारा उद्धार
कपिलवस्तु, २२ जेठ : कपिलवस्तुका २२ जना कोरोना संक्रमितलाई क्वारेन्टाइनबाट आइसोलेसनमा लग्न कुनैपनि गाडी र एम्बुलेन्सले नमानेपछि एक साहसी प्रहरी अधिकृतले उनीहरुको उद्धार गरेका छन् ।
कोरोना संक्रमित क्वारेन्टाइनमा अलपत्र पर्दा संक्रमण फैलिने त्रासमा थिए । आइसोलेसन सेन्टर तयारी अवस्थामा थियो । तर कुनै पनि गाडी र एम्बुलेन्सले ओसार्न मानेनन् । एम्बुलेन्स पनि तयार नभए पछि कपिलवस्तुका एक प्रहरी अधिकृत पिपिई लगाएर अगाडि सरे पिकअप गाडी आफैंले चलाएर उनीहरूलाई आइसोलेसनमा पुर्याए ।
ती संक्रमित तीन दिनदेखी अलपत्र परेका थिए । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका कोरोना संक्रमितलाई प्रहरी निरीक्षक प्रताप पौडेलले उद्धार गरी आइसोलेसनमा पुर्याएका छन् ।
संक्रमितलाई बोक्न एम्बुलेन्स चालकसमेत डराएपछि पौडेल आफैं तयार भएका थिए । उनले पिपिई लगाएर २२ संक्रिमतलाई आइसोलेसनमा पुर्याएका थिए । नगरपालिकाका ६ वटा क्वारेनटाइनमा रहेका संक्रमितलाई आइसोलेसनमा लैजान उनलाई ६ घण्टा लागेको थियो ।
‘लामो समयसम्म पिपिई लगाउँदा बढी पसिना बगेको थियो । मलाई डर भने लागेन । शारीरिक रूपमा तन्दुरुस्त भएकाले जोखिम लिन तयार भएको थिएँ,’ पौडेलले अगाडि भने । इलाका प्रहरी कार्यालय कृष्णनगरका सवारी चालक कोरोना संक्रमण भई आइसोलेसनमा गएपछि पौडेल आफैंले पटक-पटक जोखिम मोलेका छन् ।
कृष्णनगर नगरपालिका वडा नं. ३ लक्ष्मीनगरको मदरसास्थित आइसोलेसनमा सोमवार दिउँसो ३ बजेदेखि उनले ओसार्न सुरु गरेका थिए । राति ९ बजे सबै संक्रमितलाई उनले आइसोलेसनमा पुर्याए । ‘एम्बुलेन्स तयार थिएनन् । अरू कोहीले पनि मानेनन् । क्वारेन्टाइनमा बसेका मानिसहरू डराएका थिए । संक्रमितहरु नजिक पर्छन् की भनेर झनै आत्तिएका थिए । त्यो देखेर मैले संक्रमितहरुको उद्वार गर्नुपर्छ भन्ने आँट जाग्यो,’ पौडेलले बताए ।
यसअघि पनि कृष्णनगर सीमा क्षेत्रमा कोरोना संक्रमणबाट मृत्युबाट भएका अर्घाखाँची भूमिकास्थनका पुरुषलाई पौडेलले बोकेर एम्बुलेन्समा ल्याएका थिए ।
पौडेलले सीमा क्षेत्रको निरीक्षण, क्वारेनटाइन र आइसोलेसनको नियमित अनुगमनसमेत गर्दै आएका छन् ।
