हाजिरी जमानीमा हिरासतमुक्त भए जुवाडे
काठमाडौं, २० जेठ : महानगरीय प्रहरी वृत्त, दरबारमार्गले चलाएको अपरेसनमा पक्राउ परेका ९ जना व्यक्तिलाई प्रहरीले छाड्ने भएको छ । कोरोना भाइरसको कारण देखाउँदै प्रहरीले उनीहरुलाई हाजिरी जमानीमा छाड्न लागेको हो ।
लकडाउनमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ भिआइपी जुवाडेहरुलाई प्रहरीले हाजिरी जमानीमा छोडेको छ । मङलबार जिल्ला प्रशासन कार्यालय काठमाडौले ५ दिन थप हिरासतामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएपनि प्रहरीले हाजिरी जमानीमा छोडेको हो ।
सोमबार राति काठमाडौंस्थित कमलादीको एक होटलबाट जुवा खेलिरहेको अवस्थामा ९ जना व्यापारीलाई महानगरीय प्रहरी वृत दरबारमार्गले पक्राउ गरेको थियो । कमलादीस्थित गङगोर रिजेन्सी बुटिक होटलबाट उनीहरूलाई दुई लाख ७७ हजार सात सय २० रूपैयाँ सहित पक्राउ गरिएको वृतका प्रमुख रन्जन दाहालले जानकारी दिए ।
पक्राउ पर्नेमा नन्द किशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, बिमलकुमार खेतान, राम चन्द्र साङ्घाइ, पुरूषोत्तम अग्रवाल, विमल अहुजा र सुरेश अग्रवाल छन् । त्यस्तै होटलका सञ्चालक भारतका मिक्की जोगाइ पनि पक्राउ परेको दाहालले बताए ।
कोरोना भाइरसको महामारीका कारण जघन्य बाहेकका कसुरका आरोपीलाई हिरासतमा नराख्ने सरकारको नीतिअनुसार उनीहरुलाई छाडिएको बताइएको छ ।
