बागबजारका मुद्रण व्यवसायी सहित ११ जना कोरोना जितेर घर फर्किए
टेकनाथ न्यौपाने । काठमाडौं, १७ जेठ : बागबजारका मुद्रण व्यवसायी सहित ११ जना काठमाडौंको सतुङ्गलस्थित सशस्त्र प्रहरी अस्पतालबाट शनिबार एकैपटक कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।
धादिङको थाक्रे गाउँपालिका–८ स्थित जुँगेखोला स्थायी घर भएका ४१ वर्षीय पुरुष काठमाडौँको बागबजारमा व्यवसाय गर्ने उनमा यहि जेठ ५ गते कोरोना संक्रमण देखिएको थियो । टेकु अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनी काठमाडौंको सतुङ्गलस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना भएका थिए र उपचारपछि उनीसंगैं ११ जना कोरोनालाई जितेर आज घर फर्किएका छन् । उनी जेठ २८ गते धादिङको थाक्रे गाउँपालिका–८ स्थित जुँगेखोला घरबाट काठमाडौं आएका थिए ।
यस्तै भक्तपुरका तेस्रो संक्रमित भक्तपुर नपा-५ योसिंखेल निवासी ४२ वर्षीय पुरुष काठमाडौं महानगरपालिकाका सफाइ गाडीका चालक हुन् । स्वास्थ्य मन्त्रालयले गएको जेठ ६ गते उनलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरेको थियो ।
उनी डिस्चार्ज भएसँग भक्तपुरका चारैजना कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका छन् । शनिबार उनीसँगै महानगरीय प्रहरी प्रभाग कालीमाटीका दुई प्रहरीमध्ये प्रहरी नायब निरीक्षक र प्रहरी जवान पनि डिस्चार्ज भएको अस्पतालका निर्देशक डीआईजी हरिचन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार शनिबार अस्पतालबाट भक्तपुर र ललितपुरका एक/एक तथा काठमाडौंका ९ जना डिस्चार्ज भएका छन् । त्यस्तै काठमाडौंको चन्द्रागिरी नपा १० की सात वर्षीय बालकसमेत डिस्चार्ज भएको डीआइजी पोखरेलले बताए ।
यसैगरी ‘अस्पतालको आइसोलेसनमा अझै दुईजना संक्रमित उपचाररत छन्’, उनले भने, ‘उहाँहरू पनि चाँडै डिस्चार्ज हुनुहुन्छ ।’ उनले अस्पतालमा २० वटा आइसीयू शैय्या र एक सय बीस शैय्याको आइसोलेसन वार्ड रहेको जानकारी दिए ।
आजदेखि कोरोनामुक्त भयो भक्तपुर
भक्तपुर नगरपालिका– ५ भेलुखेलका ४२ वर्षीय पुरुष ११ दिनको उपचारपछि कोरोनामुक्त भएर घर फर्किएसँगै भक्तपुर जिल्ला कोरोनामुक्त भएको छ ।
काठमाडौँ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारपछि काठमाडौँ महानगरपालिकामा सवारी चालकका रुपमा काम गर्ने ती पुरुष आज घर फर्किएसँगै भक्तपुर कोरोनाभाइरसमुक्त भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।
भक्तपुरमा अहिलेसम्म सङ्क्रमित चाँगुनारायण नगरपालिका दुवाकोट बस्ने सशस्त्र प्रहरी, मध्यपुरथिमि शङ्खधरचोकमा सुनसरीबाट आएकी युवती, भेलुखेलका पुरुष र भक्तपुर– ९ की महिला जनप्रतिनिधि गरी चारै जनाले कोरोनालाई जितेर फर्किएपछि जिल्ला कोरोनामुक्त भएको हो ।
सङ्क्रमितका परिवार, उनीहरुसँग सम्पर्कमा आएका व्यक्ति र छिमेकीको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएको थियो । कोरोनाको जोखिम भने कायमै रहेको बताउँदै प्रहरी उपरीक्षक प्रधानले लकडाउनको पालना गर्न र अत्यावश्यक कामबाहेक बाहिर नस्किन आम भक्तपुरवासीलाई आग्रह गर्नुभएको छ ।
नेपालमा आजसम्म कोरोना संक्रमितका संख्या १ हजार ४ सय १ पुगेको छन भने कोरोनालाई जितेर फर्कनेमहरुको संख्या २१९ पुगेको छ । यस्तै कोरोना संक्रमणबाट मृत्युहुनेहरुको संख्या ७ पुगेको छ ।
