संक्रमितलाई आइसोलेसनमा लैजाँदा झडप, १२ राउण्ड हवाई फायर
रौतहट, १६ जेठ : रौतटहको इशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजाने क्रममा शुक्रबार बिहान स्थानीय र प्रहरी बिच झडप भएको छ ।
इशनाथ नगरपालिका वाड नं. ७ जोकाहामा स्थानीय र प्रहरीबीच झडप भएको हो । जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि तनाव भएको हो ।
तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेका थिए ।
त्यसपछि भएको तनावले झडपको रुप लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आक्रोशित स्थानीयले प्रहरीको गाडी पनि तोडफोड गरेका छन् ।
